तनहुँमा ६ मतदानस्थल थप र सातको स्थान परिवर्तन गर्न सिफारिस

Byकिरण श्रेष्ठ

२२ श्रावण २०७९, आईतवार ०८:४९ २२ श्रावण २०७९, आईतवार ०८:४९ २२ श्रावण २०७९, आईतवार ०८:४९

तनहुँ । आगामी मंसिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि तनहुँमा ६ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले बन्दीपुर गाउँपालिका–६ को साराङघाट कृषि सेवा केन्द्र साराङघाट, व्यास नगरपालिका-५ को शुक्र आधारभूत विद्यालय चिन्तुटार, व्यास नगरपालिका-१० को शिव माध्यमिक विद्यालय दुम्सीबजार, शुक्लागण्डकी नगरपालिका-२ को शिला आधारभुत विद्यालय हलेदी, शुक्लागण्डकी नगरपालिका-३ को शहिद कृष्ण माध्यामिक विद्यालय कवासे र आँबुखैरेनी गाउँपालिका–४ को छिम्केश्वरी माध्यमिक विद्यालय भांगेमा स्थल थप गर्न सिफारिस गरेको हो ।

मतदानस्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा १४२ मतदानस्थल हुनेछन् ।

मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका ७ मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा रहेका भन्दै मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसमा देवघाट गाउँपालिका–१ मा रहेको गाविस भवनमा रहेको मतदान स्थल सोही वडाको पार्वती मावि कोटामा, देवघाट-२ मा रहेको सिद्ध आधारभूत विद्यालय कोट बैदीबाट सोही वडाको सर्वोदय आधारभूत विद्यालय व्यागनमा, देवघाट-२ कै कमला आधारभुत विद्यालय सानुभन्ज्याङबाट कालिगंगा माविमा स्थान परिवर्तनको सिफारिस गरिएको छ ।

यस्तै बन्दिपुर-६ धरमपानिमा रहेको गाविस भवन भौगोलिक विकटता भएको भन्दै अरुण मावि हटियाबजारमा सार्ने सिफारिस गरिएको छ । शुक्लागण्डकी-१२ जसपुरको त्रिभुवन आधारभूत विद्यालयबाट रातामाटामा अमरज्योति आधारभुत विद्यालयमा स्थान परिवर्तनको सिफारिस गरिएको छ । भिमाद-९ च्यानडाडाको हिमालय आधारभूत विद्यालयबाट च्यानडाँडा कै भिमाद सामुदायिक भवनमा स्थान परिवर्तन गर्ने सिफारिस गरिको छ । त्यस्तै आँबुखैरेनी-६ हिलेखर्कको गाविस भवनबाट कन्यादेवी माविमा स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ ।

७ वटाको नाम संसोधन गर्ने सिफारिस

त्यसैगरी ७ वटा मतदान स्थलको नाम परिवर्तन गर्न सिफारिस गरिएको समितिले जनाएको छ । देवघाट-३ को गाविस भवन लुङग्रीनलाई ३ नं वडा कार्यालय भवन, व्यास-८ को गाविस भवन फेदीलाई ८ नं वडा कार्यालय, रिस्तीफेदी, व्यास-९ चण्डीथानको नारायणचौर आधारभुत विद्यालयललाई नारायणचौर सामुदायीक भवन, चण्डीथान र भिमाद-४ तुरतुरेको गाविस भवनलाई सामुदायिक स्वास्थ्य इकाई तुरतुरे बनाइने भएको छ ।

त्यस्तै भिमाद-७ पोखरीछापको पोखरीछाप आधारभूत विद्यालयलाई ७ नं वडा कार्यालय पोखरीछाप, ऋषिङ-७ को गाविस भवन अर्खलछापलाई ७ नं वडा कार्यालय भवन अर्खलछाप र ऋषिङ-८ पल्त्याङको गाविस भवनलाई ८ नं वडा कार्यालय भवन पल्त्याङ बनाउन सिफारिस गरिएको छ ।

स्थानीय तहको निर्वाचन २०७९ मा तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता रहेका थिए । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका थिए ।

शुक्रबारदेखि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम रोकिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय मै मतदाता नामावली दर्ता भईरहेको थियो । अब निर्वाचनको मिति घोषणा संगै मतदाता नामावलीमा नाम दर्ताको काम रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *