निर्वाचनको तयारीमा जुटे तनहुँका राजनीतिक दल, गाउँ पसे नेता

Byकिरण श्रेष्ठ

५ भाद्र २०७९, आईतवार १४:०२ ५ भाद्र २०७९, आईतवार १४:०२ ५ भाद्र २०७९, आईतवार १४:०२

तनहुँ । तनहुँका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् ।

चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उनिहरु गाउँ पसेका हुन् ।

नेपाली कांग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । नेकपा एमालेले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ ।

नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर मात्रै सङ्गठन सुदृढीकरण अभियानको तयारी गर्ने बताएको छ ।

एमाले तनहुँका सचिव राजेश्वर ढकालले दश मध्ये ९ वटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन गरिएको बताए । उनका अनुसार म्याग्देमा पालिका स्तरीय प्रशिक्षण बाँकी रहेको छ । उनले वडास्तरीय कार्यकर्ता प्रशिक्षण, बैठक र भेटघाट कार्यक्रम सुरु गरेको बताए । एमाले निकट अनेमसङ्घले पनि पालिका स्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ ।

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण हुन लागेको जानकारी दिए । कांग्रेस निकट महिला संघले जिल्लाको १० वटै पालिकामा कार्यकर्ता प्रशिक्षण गर्न ;आगेको उनले बताए । पार्टीले भने यहि भदौ १० गतेदेखि पालिका स्तरीय प्रशिक्षण गर्ने उनले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) तनहुँका संयोजक राजेन्द्र केशरी न्यौपानेले केन्द्रको बैठक बसेपछी केन्द्रको निर्णय अनुसार छिट्टै पार्टीको जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने र पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणसँगै वडास्तरसम्म सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय सङ्गठन परिचालन गरिने उनले बताए ।

उम्मेदवारका आकाङ्क्षीको पहिचान, आकाङ्क्षीप्रति मतदाता तथा कार्यकर्ताको मनोभावना, जितको सम्भावनालगायतका विषयमा नेताले अध्ययन गरिरहेका छन् । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउन थालेका छन् ।

२०७४ लाई फर्केर हेर्दा

जिल्लामा प्रतिनिधिसभामा दुई वटा र प्रदेशसभामा चार वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभा १ मा एमालेका कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र प्रतिनिधि सभा २ मा पनि एमाले कै केदार सिग्देल विजयी भएका थिए ।

गत २०७४ को निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धन रहेको थियो । प्रतिनिधी सभा र प्रदेश सभा गरी ६ वटै सिट वाम गठबन्धनले जितेको थियो ।

क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार श्रेष्ठले हराएका थिए । श्रेष्ठले ३४ हजार ४९२ मत पाउँदा पौडेलले २७ हजार ६९० मत पाएका थिए ।

यस्तै क्षेत्र नम्बर २ मा नेकपा एमालेका केदार सिग्देलले ३२ हजार ९३४ मत पाएर विजयी हुँदा कांग्रेसका उम्मेदवार शंकर भण्डारीले २९ हजार ६४५ मत पाएका थिए ।

यता प्रदेशसभा क्षेत्र १ (क)मा नेकपा एमालेका रामबहादुर गुरुङ्ग र क्षेत्र १ (ख)मा माओवादीका हरिबहादुर चुमान विजयी भएका थिए । एमालेका गुरुङ्गले १८ हजार २६५ मत पाएर विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराईले १६ हजार ८७८ मत मात्रै पाएका थिए । यस्तै माओवादीका चुमानले १५ हजार ३६० मत पाएर विजयी हुँदा कांग्रेसका रघुनाथ पौडेलले ११ हजार ८८१ मत पाएका थिए ।

त्यस्तै प्रदेशसभा क्षेत्र २ (क) मा नेकपा माओवादीकी आशा कोइराला र क्षेत्र २ (ख) मा एमालेका किरण गुरुङ विजयी भएका थिए । माओवादीकी कोइरालाले कांग्रेस नेता प्रदिप पौडेललाई ५ मतान्तरले हराएकी थिइन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा कांग्रेसका पौडेलले १६ हजार ६४१ मत पाएका थिए । यस्तै एमालेका गुरुङले १५ हजार ६३० मत पाएर विजयी हुँदा कांग्रेस नेता ध्रुव वाग्लेले १४ हजार २१४ मत पाएका थिए ।

२०७९ को स्थानीय चुनावको अवस्था

गत स्थानीय तह चुनावमा तनहुँका १० मध्ये नेपाली कांग्रेसले पाँचवटा स्थानीयतहमा मात्र जित हासिल गरेको छ । व्यास नगरपालिका, भानु नगरपालिका र ऋषिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै पदमा कांग्रेस उम्मेद्वार जितेका छन्। शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकाको प्रमुखमा पनि कांग्रेसले जित दर्ता गराएको छ। म्याग्दे र बन्दीपुर गाउँपालिकाको उपप्रमुख कांग्रेसले जितेको छ।

नेकपा एमालेले चार पालिका जितेको छ । भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै जितेको छ। म्याग्दे र बन्दीपुर गाउँपालिकाको प्रमुख मात्र जितेको छ ।

नेकपा माओवादी केन्द्रले एउटा पालिका जितेको छ । आँबुखैरेनी गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै माओवादी केन्द्रले जितेको छ। यसपाली शुक्लागण्डकी र देवघाट गाउँपालिकाको उपप्रमुख पनि माओवादीले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed