दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा मंगलबार आदेश आएको हो ।
नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए ।
निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।
अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।
वडा नम्बर १ देखि ८ सम्म जितेको परिणाममा सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप थियो ।
एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए ।