किरण श्रेष्ठ, माघ २० दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनामा घाइते सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख २९९९ नम्बरको बस सडक छेउको कल्भर्टमा पल्टिएको थियो । प्रहरीले बस चालक भानु नगरपालिका–५ बस्ने ३५ वर्षीय रविन्द्र घलेलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत माघ ८ गते तनहुँको व्यास-१२ बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको घटनास्थलमै मृत्यु भएको थियो । दमौलीबाट डुम्रेतर्फ जादै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे-दमौली सडकखण्डको बेलभञ्ज्याङमा दुर्घटना भएको थियो । बुलेट मोटरसाइकल अचानक आफै अनियन्त्रित भई सडकको बाँया साईडको कल्भर्टमा ठोकिन गई दुईवटा साना पुलको बीचमा खसेको थियो ।
यस्तै गत पुस ९ गते मृत्यु तनहुँकै आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँटा बोकेको ट्रक दुर्घटना हुँदा ट्रक चालक र सहचालकको मृत्यु भएको थियो । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
गत मङ्सिर २ गते पृथ्वी राजमार्ग अन्तर्गत बन्दिपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना हुँदा बस चालकको मृत्यु भएको र ३० जना घाइते भएका थिए । पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख ३४८७ न.को बस र काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको गरेको जिएए ००७० न.को बस एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।
गत भदौ ७ मा तनहुँको आँबुखैरेनी २ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना भयो । ऐनपहराबाट मस्र्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु भयो । उनीहरु पोखराबाट फर्केर काठमाडौैं जाँदै थिए । काठमाडौंमा पशुपतिनाथमा दर्शन गर्ने उनीहरुको योजना थियो । तर, बीच बाटोमा नपुग्दै बस मस्र्याङ्दी नदीमा खस्यो । बसमा सवार १६ जना घाइते भएका थिए । अझै मस्र्याङ्दी नदीमै १ बेपत्ता छन् । घटनास्थलको प्रकृति हेर्दा सडकको अवस्थाकै कारणले बस दुर्घटनामा परेको हो ।
सडकको दूरावस्थाकै कारणले पृथ्वी राजमार्गमा दुर्घटना बढिरहेका छन् । राजमार्ग स्तरोन्नतिको म्याद सकिँदा पनि सडक सम्पन्न नहुनु तनहुँबासी सहित पर्यटकका लागि समेत महंगो साबित हुँदै गएको छ ।
यसरी दुर्घटना बढ्दै जानुमा सडकको अवस्था प्रमुख देखिएको छ । त्यसमाथि निर्माणाधीन पृथ्वी राजमार्गमा अस्वस्थ प्रतिस्पर्धा पनि कारण बन्ने गरेको छ । फराकिलो सडकमा सवारी साधनहरु तीव्र गतिमा हाँक्ने र एकले अर्कालाई उछिन्ने अघोषित प्रतिस्पर्धा भइरहन्छ । जसको प्रत्यक्ष मारमा साना सवारी साधनका चालक र पैदल यात्रु पर्ने गरेका छन् ।
चालु आर्थिक वर्षको साउन यता छ महिनामा मात्र तनहुँमा ३८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । यो साउन १ देखि पुस मसान्तसम्मको तथ्यांक हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी एक सय १ जना घाइते भएका थिए भने सोही अवधिमा ५० वटा सवारी दुर्घटनामा परेका थिए ।
आर्थिक वर्ष २०७९/८० मा २९ जनाले ज्यान गुमाउँदा ६२ जना घाइते भएका थिए । यस्तै सो अवधिमा ७० वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
दुर्घटनाको प्रमुख कारणमा सडकको अवस्था, पुराना सवारी, तीव्र गति र चालकको लापरवाही रहेको जिल्लाक ट्राफिक प्रहरीहरु बताउँछन् । चालकको लापरबाहीका कारण सबैभन्दा धेरै सडक दुर्घटना हुने गरेका छन्। त्यसबाहेक क्षमताभन्दा बढी यात्रु बोक्ने, मौसम, यान्त्रिक गडबडी, सडकको अवस्था र चौपायाका कारण समेत दुर्घटना हुने गरेका छन्। सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण हरेक ६ महिनामा गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा आउन सकेको छैन। तीनैवटा तहका सरकारका निकायले सडक सुरक्षाका लागि अर्बौं रकम छुट्याए पनि दुर्घटनाको दर दिनहुँ बढ्नुले चिन्ता थपेको छ।
राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आवको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ट्राफिक नियम पालना नगर्ने १७ हजार ५ सय ७५ वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।
उक्त सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ४४ लाख ९३ हजर्र ५ सय राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन् ।