दमौली । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा पृथ्वी राजमार्गलाई लिईन्छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाईन सुरु गरिएको छ । ८० किलोमिटर रहेको मुग्लिन पोखरा सडकखण्डलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । चार लेनमा स्तरोन्तति गर्न पहिलो चरणमा सडकको आसपास रहेका रुख कटान सुरु गरिएको छ । पहिलो चरणमा आँबुखैरेनीदेखि जामुने प्याकेजअन्तर्गतका रुख काट्न थालिएको हो । सडक बिस्तारका लागि तनहुँ जिल्लाभित्र मात्रै ६ हजार ७ सय ५० रुख काट्नु पर्ने रिपोर्ट छ । त्यस्तै कास्की जिल्लामा भने १ हजार ५ सयभन्दा बढी रुख काट्नुपर्ने आयोजनाले जनाएको छ । रुख काट्न वन विभागले स्वीकृति दिइसकेको छ ।
मुग्लिनदेखि आँबुखैरैनी, आँबुखैरेनीदेखि जामुने र जामुनेदेखि पोखरा गरी ३ प्याकेजमा सडकलाई विभाजन गरिएको छ । मुग्लिन आँबुखैरेनी सडक छोडेर २ प्याकेजमा पहिलो चरणको काम हुँदै छ । मुग्लिङ–पोखरा ४ लेन सडक योजनाका लागि चालु आर्थिक वर्षमा संघ सरकारले ४ अर्ब ४३ करोड विनियोजन गरेको छ । दुवै प्याकेज चीनको कम्पनीले पाएका छन् । पहिलो प्याकेज चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र दोश्रो प्याकेज अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीलाई ठेक्का दिइएको हो । यो सडकको काम २०२४ को अप्रिलमा सकिने छ । आँबुखैरेनी–जामुने खण्डमा ६ अर्ब २१ करोड र जामुनेदेखि पोखरा खण्डमा ७ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ ।
यो खण्डमा करिब १ हजार घर भत्काउनुपर्ने छ । मुग्लिनदेखि डुम्रे खण्डका २ सय ३७, डुम्रेदेखि दमौलीसम्मका ९८, दमौलीदेखि खैरेनीटारमा २ सय ६७ घर र खैरेनीटार–पोखरा क्षेत्रमा २ सय ५८ घर भत्काउनुपर्ने देखिएको छ । अझै केही थपिन सक्ने बताइएको छ । सबै घरटहरालाई मुआब्जा दिएर हटाउने आयोजनाले जनाएको छ । यो सडकमा साना ठूला ३९ वटा पुल बनाउनुपर्ने डिजाइन छ । साना ३१ र ठूला ८ वटा पुल बन्ने आयोजनाले जनाएको छ । यसबाहेक २ सय ३० वटा स्ल्याब कल्भर्ट र ६२ वटा पाइप कल्भर्ट बनाइने छ । धारापानी, खानीखोला, नालाखोला, बुल्दी खोला, म्याग्दे खोला, कुम्ले खोला, कोत्रे र विजयपुरमा नयाँ पुल बनाउने योजना छ । मादीमा ४ लेनको नयाँ पुल बन्नेछ भने सेतीमा अहिले भइरहेको पुललाई सहयोग पुग्ने गरी थप २ लेनको पुल निर्माण हुनेछ । निर्माण सामग्री र वन क्षेत्रका कारण केही समस्या आउन सक्ने एडिबीले जनाएको छ । सडकको डिजाइन सन् २०१६ देखि क्यानेडियन कम्पनी एमएमएम रुपले बनाएको हो ।
६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ । यो सडक पूर्ण रुपमा स्तरोन्तति गर्न करिब २८ अर्ब लाग्ने अनुमान गरिएको छ । यसमध्ये ४ अर्ब रुपैयाँ मादी र सेतीमा आकर्षक पुल बनाउन खर्च हुनेछ । सडक बिस्तारको क्रममा मापदण्डभित्र पर्ने करिब १ हजार घर टहरा हटाउनुपर्ने रिपोर्ट निकालिएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने ८ किलोमिटर आबुखैरनी–मुग्लिन खण्डमा त्यसपछि काम हुनेछ ।
एडिबीका अनुसार आगामी ५ वर्षभित्र यो राजमार्गलाई पूर्ण रुपमा स्तरोन्तति गरिसकिने छ । करिब ५ दशकअघि चीन सरकारको सहयोगमा निर्माण गरिएको यो सडक सामान्य टालटुल बाहेक अहिलेसम्म स्तरोन्तति भएको छैन । दुवैतिर सर्भिस लेन, फुटपाथसहित बजारी क्षेत्रमा ४२.५ मिटर चौडा र अरु ठाउँमा १८ मिटर फराकिलो बाटो बन्ने आयोजनाका इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए । सडक बनाउन एडिबीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने समझदारी भएको छ । नेपाल सरकारले थप ५ अर्ब ९० करोड लगानी गर्नेछ ।