दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका भित्रका कुनै पनि विद्यालयले पुन: भर्ना शुल्क र वार्षिक शुल्क नलिने भएका छन् ।

विद्यालयका प्रतिनिधि सहित मंगलबार बसेको बैठकले निजी तथा सामुदायिक विद्यालयले पुन: भर्ना शुल्क र वार्षिक शुल्क नलिने निर्णय गरेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

पालिका भित्र रहेका निजी विद्यालयका प्रतिनिधि सहितको शिक्षा समितिको बैठकले शुल्क नलिने निर्णय पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष चुमानले बताए ।

गाउँपालिकामा रहको केही विद्यालयले भर्नाका क्रममा शुल्क लिएको गुनासो आएपछि गाउँपालिकाका अध्यक्ष चुमानको अग्रसरतामा मंगलबार बैठक बसेर उक्त निर्णय गरेको हो । आँबुखैरेनीका छ वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै विद्यालय भित्र कुनै विद्यार्थी बिरामी भएमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताल भित्र हुने सम्पुर्ण उपचार निशुल्क गर्ने निर्णय समेत गरिएको अध्यक्ष चुमानले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाले पछिल्लो समय शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष महत्व दिएर विभिन्न काम गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *