तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको छ । जिल्लाको व्यास-८ रिस्तीमा मेयरका उम्मेदवार जोशी माथि आक्रमण भएको बताईएको छ ।
मेयरका उम्मेदवार जोशीमाथि कांग्रेस कार्यकर्ताको समुहले आक्रमण गरेको उनका एक सहयोगीले जानकारी दिए । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भइरहेको मतदान कार्यको निरीक्षण गर्न पुगेका जोशीमाथि कुटपिट भएको हो ।
अहिले उक्त स्थानमा तनावको स्थिति बनेको छ । मतदान प्रकृया रोकिएको छ । कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।
जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’
कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको भन्दै जोशीमाथि कुटपिट गरेका हुन् । मतदान चलिरहेका बेला जोशीले मतदान केन्द्रमा पुगेर मतपत्र च्यातेको स्थानीय एवं कांग्रेस नेता शंकर पौडेलले जानकारी दिए ।