यता भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई हराईन ।
दश पालिका रहेको तनहुँको मतगणना सकिएको छ । जिल्लाको मतपरिणाम आइसक्दा ८३ वडाध्यक्षमा पुरुष विजयी भएका छन् भने २ वटामा मात्रै महिला निर्वाचित भएका छन् । पालिका प्रमुख/अध्यक्षमा शुन्य नै छ, महिला नेतृत्व ।
गत २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको म्याग्दे गाउँपालिकामा महिला अध्यक्ष निर्वाचित भएकी थिइन् । यसपटक पनि उनै मायादेवी राना निर्वाचनमा उम्मेदवार थिइन् तर यसपटक उनि सफल हुन् सकिनन् ।
उनि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार थिइन । उनलाई एमालेका पुरुष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले पराजित गरिदिए ।
जिल्लाको ७ पालिकामा यसपटक महिलाले उपप्रमुख/उपाध्यक्ष पाएपनि स्थानीय तह निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ । पहिले एक पालिका अध्यक्षसहित ९ पालिका उपप्रमुख/उपाध्यक्षमा महिला रहेको भएतापनि अहिले ७ पालिकाको उपप्रमुख/उपाध्यक्षमा मात्रै महिला विजयी भएका छन् ।
गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका नगरपालिका/गाउँपालिकाले समेत यसपटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा तालमेल कै कारण महिलाले उम्मेद्वारी समेत दिन पाएनन् । दुवै पालिकामा पुरुष विजयी भएका छन् ।
म्याग्दे गाउँपालिकामा भने नेपाली कांग्रेसले अध्यक्षमा महिला र उपाध्यक्षमा पुरुष उम्मेदवार उठाएको थियो । जहाँ महिलाले अध्यक्षमा विजय हात पार्न सकिनन् भने पुरुष उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।