दमौली -माघे सक्रान्तिमा तनहुँको दमौलीमा मेला लगाइने भएको छ । व्यास नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिती,कृषि ज्ञान केन्द्र,नेपाल बीउ व्यवसायी संघ लगायत अन्य सस्थाको सहकार्यमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला २०७८ गर्न लागिएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै स्थानीय कृषिकहरुको उत्पादनको प्रचार गर्ने उद्देश्यले तीन दिन मेला गर्न लागिएको मेयर बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार पुस ३० गते देखि माघ २ गते सम्म व्यास ३ स्थित सेन्ट्र्ल पार्कमा मेला चल्ने भएको छ । १ हजार जना कृषकको सहभागिता रहने मेलामा कृषकको लागि स्टक निशुल्क गरिएको छ । साथै अवलोकन कर्ताको लागि पनि प्रवेश शुल्क निशुल्क गरिएको छ । जिल्लाको सदरमुकाम दमौली रहेकाले अन्य पालिकाहरुबाट पनि कृषकका उत्पादन यहाँ प्रर्दशनी गर्न ल्याइने आयोजकले जनाएको छ । मेलामा बैंक तथा बित्तीय सस्थाबाट उपलब्ध हुने अनुदानमा,कृषि ऋण बारे जानकारी पनि गराइने बीउ व्यवसायी संघ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्रले बताए । मेलाले उत्पादक र उपभोक्ता बिच सिधा सर्म्पक गराउने मिश्रले बताए ।
प्रर्दशनीबाट उत्कृष्ट कृषकको पहिचान गरि नगरपालिकाको नगर सभामा पुरस्कृत गरिने भएको छ । परम्परागत देखि चलिरहेको मगर जातीको विशेष पर्व माघेसक्रान्ती रहेकाले माघ १ गते मगर संघ उक्त मेलामा बिशेष कार्यक्रम समेत गर्ने नेपाल मगर संघ व्यास नगर समितिले जनाएको छ ।