तनहुँ । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव सुरु हुन भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको शुक्रबार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरेका छन् ।
सो अवसरमा प्रमुख अतिथि भण्डारीले संस्कृति जगेर्ना गर्ने आदिवासी जनजाति भएको बताए । आदिवासी जनजातिको परिचय र पहिचानको मूल्यांकन गर्न जरुरी रहेको समेत भण्डारीले बताए । अर्को प्रसंगमा अहिले देशमा देशीविदेशी शक्तिको चलखेल बढेको भण्डारीले बताए ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको पहिलो दिन २५ हजार दर्शक र २३१ ब्यानरसहितको झाँकी आएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताउछन ।
महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइने महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।
त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइन्स, स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहने घर्तीले बताइन ।
‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा सांस्कृतिक झाँकी सहित प्रभातफेरी, शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिने भएको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।
महोत्सवलाइ थप मनोरञ्जन दिन राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रकाश सपुत, खेम सेन्चुरी, राजु परियार, प्रिति आले, भूमिका गिरी, कला लम्साल, बद्री पंगेनी, सुप्रिम मल्ल, सम्झना लामिछाने मगर, आशा बिसी, सुमन परियार, सन्दिप सिं राना, अस्मिता डल्लाकोटी लगायतका कलाकार आउने महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए ।
भिडिओ :