जिल्लाकै ठूलो सरकारी अस्पतालको रुपमा चिनिने दमौली अस्पतालमा कार्यरत चिकित्सकले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले शुक्रबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउदै गुनासो व्यक्त गरेका हुन् ।
अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशील विकले कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने भत्ता नपाएको भन्दै संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी सङ्गठन तनहुँलाई दिइएको छ ।
ज्ञापनपत्रमा बुझाउदै तलबभत्ता उपलब्ध नभएमा आईतबार देखि दैनिक कामकाज गर्न असमर्थ हुने बताएका छन् । यता दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले बजेट निकासा नभएका कारण समयमा नै तलबभत्ता वितरण गर्न नपाएको बताए । उनले यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेको समेत बताए ।