मानव अधिकारवादीद्वारा तनहुँ कारागारका कैदि बन्दिहरुको अवस्था अध्ययन

Byखवरबाटिका

२५ मंसिर २०७९, आईतवार १८:५७ २५ मंसिर २०७९, आईतवार १८:५७ २५ मंसिर २०७९, आईतवार १८:५७

तनहुँ । नेपाल मानव अधिकार सङ्गठन तनहुँले जिल्ला कारागार दमौली तनहुँमा रहेका कैदी बन्दिहरु सँग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा जिल्ला कारागारको हालको भौतिक अवस्थाको गहन अवलोकन गरिएको संघले जनाएको छ ।

उक्त कारागारमा १३५ जना क्षमता रहेकोमा हाल ३०३ जना बन्दि रहेका र जसमध्ये १८६ जना थुनुवा र ११७ जना कैदि रहेको जानकारी कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । कारागारमा बन्दिहरुका लागि ३ वटा भवन रहेकोमा २ वटा भवनमा पुरुष र एउटा भवनमा महिला कैदि राखिएको छ ।

कारागारको ब्लक ‘बी’ मा संघसस्थाको सहयोगमा प्राप्त पुस्तकहरु र आँबुखैरेनी गाउँपालिकाको सौजन्यबाट किताब राख्ने प्राप्त दराजबाट कारागार सुधार पुस्तकालय सञ्चालन भएको अध्ययनको क्रममा देखिएको संघले जनाएको छ ।

व्यास नगरपालिका सहित विभिन्न पालिकाहरुको सहयोगमा खाट, हरेक कोठामा टेलिभिजनको व्यवस्था, बाथरुममा तातो/चिसो पानीको व्यवस्था, पिउनको तातो/चिसो पानीको व्यवस्थालगायतका प्रावधानले कैदिबन्दिहरुलाई भौतिक सुविधामा टेवा पु¥याएको पाइएको अध्ययन टोलिले जनाएको छ । यी बाहेक अन्य दुई वटा ब्लकमा भने पर्याप्त भौतिक सुविधा नभएको पाइएको नेपाल मानव अधिकार सङ्गठन तनहुँले जनाएको छ ।

महिला कैदिबन्दि राखिएको ब्लक ‘सी’ मा सञ्चालित पुस्तकालयमा पर्याप्त पुस्तक नभएको, कैदिबन्दिका लागि पर्याप्त खाट नभएको, भान्छाको राम्रो व्यवस्था नभएको पाइएको संगठनका सभापति राजेन्द्र प्रसाद खनालले बताए ।

सो अवसरमा संगठनद्धारा कैदिबन्दिहरुको धारणा बुझ्ने प्रयास गरिएको थियो । उनिहरुका अनुसार आफ्नो कैद सजाय भुक्तान गरि सामान्य जीवनयापनमा फर्कदा समाजले हेय र सङ्काको दृष्टिले हेर्ने गरेकाले समाजमा अन्य घटनाहरु हुँदा प्रहरीले उनीहरुमाथि नै अनुसन्धान केन्द्रित गर्ने गरेको गुनासो रहेको थियो ।

साथै लामो समयसम्म थुनुवाहरुको अदालतबाट फैसला नभएकोले कतिपय बन्दिले अनावश्यक समय थुनामा बस्नु परेको गुनासो समेत गरेका थिए । उक्त कारागारमा प्रशासकको रुपमा नारायण अधिकारी आएपछि यस कारागारको भैतिक सुविधामा उल्लेख्य सुधार भएको कुरा कैदिबन्दिहरुबाट संगठनले जनाएको छ ।

उक्त अवसरमा संगठनको तर्फबाट सभापति राजेन्द्र प्रसाद खनाल, उपसभापति सरिता थापा, सचिव जनक काफ्ले र सदस्यहरु इन्द्रराज खनाल तथा महेन्द्र गिरीको सहभागिता रहेको थियो ।

यसका साथै संगठनले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पौष्टिक आहार वितरण पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed