तनहुँ । तनहुँको व्यास नगरपालिकाको आयोजनामा भएको तेस्रो व्यासनगर महिला खुल्ला हाफ म्याराथनको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन । न्यौपानेले उक्त २१ किलोमिटरको दुरी १ घण्टा ४७ मिनेट ५१ सेकेन्डमा पार गर्दै विजयी भएकी हुन् ।

यस्तै सोलुखुम्बुकी अनिता राईले उक्त दुरी १ घण्टा ५२ मिनेट ५४ सेकेन्डमा पार गर्दै द्दितीय, जुम्लाकी विश्व रुपा बुढाले १ घण्टा ५७ मिनेट ३२ सेकेन्डमा सो दुरी पार गर्दै तृतीय भईन ।

यस्तै गुल्मी गिता विकले १ घण्टा ५९ मिनेट ०५ सेकेन्ड, गोरखाकी अमृता गुरुङले २ घण्टा ९ मिनेट २४ सेकेन्ड र नवलपरासीकी सिमा चौधरीले २ घण्टा १५ मिनेट ४७ सेकेन्डमा सो दुरी पार गर्दै सान्त्वना भएका छन् ।

विजेताहरुले क्रमश: प्रथम पुरस्कार नगद रु.४१ हजार ७९, द्वितीय पुरस्कार रु. ३१ हजार ७९, तृतीय पुरस्कार रु. २१ हजार ७९ र ३ जनालाई सान्त्वना पुरस्कार रु. ११ हजार ७९ का प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

गतवर्ष भएको दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथनको उपाधि एपीएफकी कान्छीमाया कोजुले उक्त २१ किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट १२ सेकेन्डमा पार गर्दै जितेकी थिइन् ।

नगरपालिकाले व्यास नगरपालिका-३ स्थित व्यास गुफादेखि व्यास-११ ऐतिहासिकस्थल तनहुँसूरसम्मको २१ किलोमिटर दुरीमा दौड प्रतियोगिताको आयोजना गरेको हो ।

व्यास नगरपालिका-११ तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि बुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

दुई पर्यटकीय स्थानलाई जोड्दै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गरी आर्थिकरुपमा सबल बनाउने लक्ष्यका साथ बिगत तीन वर्षदेखि म्याराथन हुँदै आएकाे नगरपािलकाले जनाएकाे छ ।

दाैड रूट व्यास गुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरबार पुगेर म्याराथनको समापन भएको छ ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसरमा राज्य सञ्चालन गरेको इतिहास छ ।

उक्त स्थानमा अझै पनि तत्कालीन अवस्थामा प्रयोग गरिएका तोप लगायतका हातहतियार र सेनवंशीय राजदरबार जीर्ण भएर भत्किएको अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed