काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किएका श्रेष्ठले अहिले आफ्नो जिम्मेवारीमा यथावत रहन भनेको जानकारी दिए । नेकपा एसले चार जना मन्त्री फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो ।

अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूको शैलीमाथि असन्तुष्टि जनाए पनि तत्काल मन्त्री फिर्ता नहुने जानकारी गराएका छन् । मन्त्री श्रेष्ठले आफूहरू पार्टीको निर्णय मान्न जहिले पनि तयार रहेको भन्दै जिम्मेवारी पूरा गर्न पार्टीले अह्राए बमोजिम नै काम गर्ने बताए ।

यसैबीच पार्टीको निर्णय नमान्ने चेतावनी दिएको भनेर आफूविरुद्ध सामाजिक सञ्जाल र केही अनलाइनले अनर्गल प्रचार गरेको उनले बताएका छन् । आफूविरुद्ध झूट, कपोलकल्पित र भ्रामक समाचारको अभियान चलाइएको भन्दै भ्रममा नपर्न उनले अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed