तनहुँ । दश वटा पालिका रहेको तनहुँमा नगरप्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय तनहुँको तथ्याङ्क हेर्दा २८.३८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ ।

मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमल लगायतका कारणले प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमै बढी बदर भएको देखिन्छ ।

एक लाख ५७ हजार २५५ मत खसेको तनहुँमा १७ हजार ८९३ मत प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमा २६ हजार ७३१ मत गरी कुल ४४ हजार ६२४ मत बदर भएको छ । यो तथ्याङ्क तनहुँका पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा खसेको मतको बदर भएर मतको मात्रै हो ।

निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा तनहुँको सदरमुकाम रहेको व्यास नगरपालिका र भानु नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ ।

व्यास नगरपालिकामा कूल ३० हजार १८३ मत खसेकोमध्ये नगरप्रमुख पदमा ४ हजार ५८८ मत र उपप्रमुखमा ४ हजार २१० मत बदर भएको छ । व्यासको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी भानु नगरपालिकामा नगर प्रमुखमा २ हजार ७७८ र उपप्रमुखमा ६ हजार ५२७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । भानुमा कूल २५ हजार ५७२ मत खसेको थियो । नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै नगरप्रमुख र उपप्रमुख दुवै एमालेले जितेको भिमाद नगरपालिकामा कूल १६ हजार १४९ मत खसेको थियो । नगरप्रमुखमा १ हजार ६८५ र उपप्रमुखमा ९९४ मत बदर भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकाको नगरप्रमुखमा २ हजार ८७३ र उपप्रमुखमा ५ हजार ७७ मत बदर भएको तथ्याङ्कले देखाएको छ । जहाँ २५ हजार ७६० मत खसेको थियो । नगरप्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडाध्यक्षदेखि वडा सदस्य, महिला सदस्यसम्ममा मत बदर भएको देखिन्छ । जसका कारण धेरैजसो पालिकामा झिनो मतान्तरले जीत र हारको परिणामसमेत निस्केको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका पनि अध्यक्ष र उपाध्यक्ष लगायत वडाको सदस्यसम्म बदर मतबाट अछुतो छैन् । आँबुखैरेनीको अध्यक्षमा ९६८ मत र उपाध्यक्षमा १ हजार ३४७ मत बदर भएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुवै जितेका हुन् । यहाँ कूल ९ हजार २७८ मत खसेको थियो ।

त्यसैगरी ऋषिङ गाउँपालिकामा १० हजार ६६६ मत खसेको थियो । जसमा अध्यक्षमा १ हजार २४९ र उपाध्यक्षमा २ हजार ४६८ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । अध्यक्ष र उपाध्यक्ष पद दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएर पालिकाको कामकाज अघि बढाइसकेका छन् । यहाँ कांग्रेसका दुवै जना उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पुन: निर्वाचित भएका हुन् ।

यस्तै घिरिङ गाउँपालिकामा ८ हजार ७१८ मत खसेको थियो । जसमा अध्यक्षमा ७७२ र उपाध्यक्षमा १ हजार ४३३ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । अध्यक्ष र उपाध्यक्ष पद दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै देवघाट गाउँपालिकामा समेत मत बदर भएको छ । यो पालिका अध्यक्षमा ८९५ र उपाध्यक्षमा १ हजार ३३ मत बदर भएको छ । ८ हजार ७७६ मत खसेको देवघाट गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यसैगरी बन्दीपुर गाउँपालिकामा अध्यक्षमा ९३५ र उपाध्यक्षमा २ हजार ४५६ मत बदर भएको छ । १० हजार २०५ मत खसेको यहाँ नेकपा एमालेका उम्मेदवारले अध्यक्ष र नेपाली कांग्रेसकी उम्मेदवारले उपाध्यक्ष जितेका थिए ।

यस्तै म्याग्दे गाउँपालिकामा ११ हजार ९४८ मत खसेको थियो । जसमा अध्यक्षमा १ हजार १५० र उपाध्यक्षमा १ हजार १८६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । म्याग्देको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

दुई लाख ४४ हजार ३४० मतदाता रहेको तनहुँमा ८७ हजार ८५ जना मतदाता मतदानमा सहभागी भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed