आँबुखैरेनी-मुग्लिन सडकखण्डमा केही दिन ठूला सवारी नचल्ने, भित्ता काटिदै

Byकिरण श्रेष्ठ

२७ जेष्ठ २०७९, शुक्रबार १८:१० २७ जेष्ठ २०७९, शुक्रबार १८:१० २७ जेष्ठ २०७९, शुक्रबार १८:१०

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्डमा अब केही दिन ठूला सवारी नचल्ने भएको छ ।

सडक विभागले भित्तातर्फ करिब २ फिट काटेर शुक्रबार दिउँसोदेखि साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला सवारी भने चल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४:५० बजेतिर सडक भासिएको थियो । पृथ्वी राजमार्गको करिब २० मिटर सडक तल भासिएको प्रहरीले जानकारी दिएको छ । उनले थपे ‘वरपरका भाग पनि जोखिममा छ ।’

केही दिनका लागि उक्त सडकखण्डमा ठूला सवारी साधन चलाउन नसकिने अवस्था रहेकोे प्रहरीले जनाएको छ । उक्त पहिरो गएको ठाउँबाट खस्दा मृत्यु भएका दुई जनाको शव फेला परेको छ । जसमा एक जनाको सनाखत भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घिमिरेको शव पोस्टमर्टमका लागि दमौली अस्पतालमा राखिएको छ । घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला परेको छैन। सडक भासिएर मर्स्याङ्दी नदीमा पुगेको थियो ।

सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन।

यस्तै बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पनि पहिरामा खसेर बेपत्ता छ। मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

बिहान करिब ४ बजेर ५० मिनेटमा सडक भासिएको प्रहरीको अनुमान छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्डको आँबुखैरेनी-४ साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको थियो ।

बिहानदेखि अवरूद्ध मुग्लिन-आँबुखैरेनी सडक दिउँसोबाट एकतर्फी खुल्न थालेको छ । माइक्रोबस सम्मका साना सवारी कट्न सक्ने बाटो बनेको छ।

एक्साभेटर लगाएर पहरो काटेर बाटो खुलाइएको हो । ठूला सवारी साधन चल्न केहि दिन लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *